बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नबढाउने आयल निगमको निर्णय

काठमाडौँ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि इन्धनको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

भोटेकोसी नदीमा आएको असाधारण बाढीबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले हाल कायम रहेको मूल्य नबढाउने निर्णय गरेको हो।

आईओसीबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा, डिजेलमा ४ रुपैयाँ ३३ पैसा, मट्टितेलमा १० रुपैयाँ १९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ९६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसा बढेर आएको थियो।

तर, बाढीपहिरोका कारण नागरिकले भोगिरहेको कठिन अवस्थालाई ध्यानमा राख्दै निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम राखेको जनाएको छ।

यस्तै, पोखरा र भैरहवामा बिक्री हुने अन्तर्राष्ट्रिय हवाई इन्धन भने ‘ब्रेकइभेन पोइन्ट’ मा बिक्री गरिने निगमले स्पष्ट पारेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि उपभोक्तालाई राहत दिने उद्देश्यले बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।