काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को सामना गर्न केन्द्र, प्रदेश र स्थानीय तहका सरकार पूर्ण रूपमा परिचालित हुन नसकेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले विपद्को समयमा सरकारलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताए। सेना परिचालन भए पनि जनप्रतिनिधि र जनपरिचालनलाई प्रभावकारी रूपमा जोड्न नसकिएको उनको भनाइ थियो।
‘सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने काम हुँदैन। सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने जनगुनासो सबैभन्दा बढी सुनिएको छ,’ उनले भने।
सरकारले आफ्नो कामप्रति घमण्ड गर्नुभन्दा देखिएका कमजोरीबाट पाठ सिक्नुपर्नेमा प्रचण्डले जोड दिए। सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा समेत सरकारले समयमै प्रभावकारी पहल गर्न नसकेको भन्दै उनले आलोचना गरे।
उनले जनस्तरबाट आएका विज्ञहरूको सहयोगसमेत पर्याप्त रूपमा लिन नसकिएको गुनासो रहेको संसद्मा बताए।
प्रचण्डले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनर्स्थापनाका कामलाई तीव्रता दिनुपर्ने भन्दै दीर्घकालीन पुनर्निर्माणमा समेत गम्भीर भएर अघि बढ्न सरकारलाई आग्रह गरे।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिनुपर्ने उनको सुझाव थियो। जापान र स्वीट्जरल्यान्डले विपद् व्यवस्थापनमा अपनाएका अभ्यासबाट नेपालले समेत सिक्न सक्ने उनले बताए।







