बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि एक-एक करोड रुपैंयाँ र धादिङका लागि ५० लाख रुपैंयाँ दिने निर्णय सरकारले गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते छ करोड ५० लाख रुपैंयाँ र १६ गते छ करोड ५० लाख रुपैंयाँ गरी १३ करोड ५० लाख रुपैंयाँ निकासा गरेको हो।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि एक करोड ५० लाख रुपैंयाँ, गोसाइँकुण्ड गाउँपालिकाका लागि दुई करोड रुपैंयाँ, कालिका गाउँपालिकाका लागि ६० लाख रुपैंयाँ र आमा छोदिङ्मो गाउँपालिकाका लागि ४० लाख रुपैंयाँ निकासा गरिसकेको छ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि तीन करोड रुपैंयाँ, बेलकोटगढी नगरपालिकाका लागि एक करोड ५० लाख रुपैंयाँ, किस्पाङ गाउँपालिकाका लागि ५० लाख रुपैंयाँ र तारकेश्वर गाउँपालिकाका लागि एक करोड रुपैंयाँ निकासा गरिएको छ।

त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख रुपैंयाँ, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख रुपैंयाँ, गजुरी गाउँपालिकाका लागि ४० लाख रुपैंयाँ र बेनिघाट रोराङ गाउँपालिकाका लागि ४० लाख रुपैंयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख रुपैंयाँ तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख रुपैंयाँ र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख रुपैंयाँ निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैंयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते एक करोड रुपैंयाँ निकासा दिएपछि अब सो कोषमा छ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैंयाँ मौज्दात रहेको छ। साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।