काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाहरूको सम्मानस्वरूप घटना भएको १३औँ दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपाली झण्डा आधा झुकाइने छ ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरूप उक्त घटना भएको १३औँ दिनको पुण्यतिथिका दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने।’







