काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाले सञ्चालन गरेको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तर्गत माछाका भुरा, दाना लगायत सामग्री खरिद तथा वितरण गर्दा झुट्टा बिल–भरपाई तयार गरी वास्तविकभन्दा बढी रकम भुक्तानी लिएको पाइएको हो ।
यस प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैत, पशु शाखा प्रमुख रमेशनारायण शर्मा, लेखापाल आशिषकुमार कामती र औरही गाउँपालिका–४ स्थित प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादवविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ८ लाख २ हजार ८७८ रुपैयाँ बिगो कायम गरी सो रकम असुलउपर तथा कानुनबमोजिम सजायको मागदाबी गरेको छ ।







