भोटेकोशी बाढीः १२ हजार ३८ जनाको उद्धार, ५ हजार ३८४ ले पाए उपचार, अझै ५ हजार ८३ सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएकामध्ये तीन हजारभन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा रहेका छन्।

बाढी प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाले स्वास्थ्योपचार सेवा लिएका छन्। उपचार पाउनेमध्ये ३०४ जना विभिन्न अस्पतालमा उपचाररत रहेको प्राधिकरणले जनाएको छ।

उपचार सेवा पाउनेमा नेपाली सेनामार्फत ३ हजार २०६ जना र सशस्त्र प्रहरी बल नेपालमार्फत १ हजार ८७४ जना रहेका छन्। प्रभावित क्षेत्रमा उद्धारसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।

बाढीपछि अझै ५ हजार ८३ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित सबै निकाय परिचालन गरिएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा राखी आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ।

ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी कार्यलाई तीव्रता दिइएको छ। साथै उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापन र प्रभावितलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।