दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार हुनुले अझै आशाको किरण जीवित रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले निरन्तरका कठिन चुनौतीका बाबजुद उद्धार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सेन्ट्रल कमाण्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन्।

शुक्रबार बिहान त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको सकुशल उद्धार गरिएको थियो। उद्धार टोलीले सुरुङभित्र बाँकी रहेका व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको गृहमन्त्री गुरुङले बताएका छन्।

साह र महर्जनको उद्धारका क्रममा उनीहरू तथा उद्धार टोलीको हौसला बढाउन गृहमन्त्री गुरुङ घटनास्थलमै पुगेका थिए।

यसैगरी, बाढीमा परी सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गरिरहेका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको कामको पनि उनले उच्च कदर गरेका छन्।