काठमाडौं । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र एक जनाको शव फेला परेको छ। यसअघि सोही सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एक जनाको शव बाहिर निकालेका हुन्। फेला परेको शवको पहिचान भने हुन बाँकी रहेको उनले बताए।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले यसअघि सुरुङबाट विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा भर्ना गरिएको छ। सेनाका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको भूमिगत विद्युत् गृह क्षेत्रमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ। तीमध्ये अधिकांश विद्युत् गृहभित्रै रहेको अनुमान छ।
थप व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै भूमिगत विद्युत् गृह क्षेत्रमा खोजी तथा उद्धार अभियान निरन्तर जारी रहेको उद्धारकर्मीहरूले जनाएका छन्।






