एफवानसफ्ट ग्रुपद्वारा बाढीप्रभावितको लागि प्रधानमन्त्री उद्धार कोषमा १ करोड ३५ लाख सहयोग

काठमाडौं । हालैको बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको राहत र पुनःस्थापनाका लागि एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।

इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, इसेवा मनि ट्रान्स्फरलगायत एफवानसफ्ट ग्रुपअन्तर्गतका कम्पनी तथा कर्मचारीहरूको संयुक्त पहलमा उक्त सहयोग गरिएको हो । बाढी प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका प्रयासमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको ग्रुपले जनाएको छ ।

ग्रुपले इसेवा र फोनपेमार्फत व्यक्तिगत रूपमा बाढीपीडितका लागि सहयोग गर्ने प्रयोगकर्ताहरूप्रति पनि आभार व्यक्त गरेको छ । उसका अनुसार इसेवामार्फत हालसम्म १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै, फोनपेमार्फत ८ लाख ६२ हजार ४४५ जना प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेको कम्पनीले जनाएको छ । उक्त रकममा विदेशबाट प्राप्त योगदानसमेत समावेश छ ।

भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ जना प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ जनाले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

एफवानसफ्ट ग्रुपले बाढी प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै विपद्को कठिन परिस्थितिबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ ।

साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था र व्यक्तिहरूप्रति पनि ग्रुपले आभार प्रकट गरेको छ ।