धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । लामो समयदेखि सेवा सञ्चालनको प्रयास हुँदै आए पनि आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति तथा मापदण्ड पूरा हुन नसक्दा रोकिएको सेवा आवश्यक व्यवस्थापन पूरा भएपछि औपचारिक रूपमा सुरु गरिएको हो ।

कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले शुक्रबार आयोजित कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्रको उद्घाटन गर्नुभयो । केन्द्र सञ्चालनमा आएपछि धनकुटा तथा आसपासका जिल्लाका बिरामीलाई आकस्मिक अवस्थामा रगतका लागि सुनसरी, मोरङलगायत जिल्लामा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

मन्त्री पराजुलीले रक्तसञ्चार केन्द्रलाई नियमित, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले ऐतिहासिक धनकुटा जिल्ला अस्पतालको सेवा विस्तारका क्रममा रक्तसञ्चार केन्द्र सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।

उहाँले जिल्ला अस्पताललाई हालको ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गर्न प्रदेश सरकारबाट निरन्तर पहल भइरहेको जानकारी दिनुभयो । अस्पतालको क्षमता विस्तारसँगै आवश्यक सेवा, सुविधा र जनशक्ति व्यवस्थापनका लागि समेत प्रदेश सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

अस्पतालका अनुसार रक्तसञ्चार सेवा सञ्चालनका लागि मापदण्डअनुसार चार कोठे भवन निर्माण गरी आवश्यक उपकरण जडान गरिएको छ । चौबीसै घण्टा सेवा उपलब्ध गराउन चार जना प्राविधिक तथा कर्मचारीको व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताउनुभयो ।

प्रारम्भिक चरणमा आवश्यक बजेट व्यवस्थापन भएपछि सेवा सञ्चालन गर्न सम्भव भएको उहाँले जानकारी दिनुभयो । अहिले अस्पताल ५० शय्यामा सञ्चालनमा रहे पनि सरकारीस्तरबाट भने १५ शय्याका लागि मात्र आवश्यक सेवा, सुविधा र जनशक्ति उपलब्ध हुँदै आएको छ । बिरामीको चाप भने स्वीकृत क्षमताभन्दा बढी रहेको अस्पतालले जनाएको छ ।

रक्तसञ्चार सेवा सुरु भएपछि शल्यक्रिया, प्रसूति, दुर्घटना, आकस्मिक उपचार तथा अन्य जटिल स्वास्थ्य समस्याका बिरामीलाई आवश्यक रगत तत्काल व्यवस्थापन गर्न सहज हुने भएको छ ।

डेढ दशकपछि प्रयासले पायो मूर्तरूप

धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालनको प्रयास करिब डेढ दशकदेखि हुँदै आएको थियो । आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति तथा अन्य मापदण्ड पूरा हुन नसक्दा विगतका प्रयास सफल हुन सकेका थिएनन् ।

लामो प्रयासपछि नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा, अस्पताल विकास समिति, स्थानीय तह, देश–विदेशमा रहेका नेपाली तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा आवश्यक स्रोत जुटाइएको हो ।

नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका अध्यक्ष छत्रकुमार श्रेष्ठले आवश्यक स्वीकृति लिएर रक्तसञ्चार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले केन्द्र सञ्चालनसँगै नियमित रूपमा रगत तथा आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्थानीय तह, सामाजिक सङ्घसंस्था, नागरिक समाज र सर्वसाधारणसँग निरन्तर सहकार्य गरिने जानकारी दिनुभयो ।

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि देश तथा विदेशमा रहेका नेपाली र विभिन्न सङ्घसंस्थाबाट १६ लाख ४५ हजार ४२८ रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको छ । एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।

अभियानमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का विभिन्न राष्ट्रिय समन्वय परिषद्, अन्तर्राष्ट्रिय समन्वय परिषद्सँग आबद्ध व्यक्ति तथा विभिन्न देशमा रहेका नेपाली समुदायको सहभागिता रहेको थियो । अमेरिका, जापान, चीन, अष्ट्रेलिया, हङकङ, फिलिपिन्सलगायत देशमा रहेका नेपाली तथा सङ्घसंस्थाबाट सहयोग प्राप्त भएको राउतले बताउनुभयो ।

यसअघि धनकुटामा आकस्मिक रूपमा रगत आवश्यक पर्दा बिरामीका आफन्तले सुनसरी र मोरङलगायत जिल्लामा रहेका रक्तसञ्चार केन्द्रसँग समन्वय गरी रगत ल्याउनुपर्ने अवस्था थियो । यसले बिरामी तथा आफन्तलाई थप आर्थिक र मानसिक समस्या हुने गरेको थियो । अब जिल्लामै रक्तसञ्चार सेवा उपलब्ध भएपछि उक्त समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।

अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने तयारी

धनकुटा जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने पहल भइरहेको स्वास्थ्यमन्त्री पराजुलीले बताउनुभयो । अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति र सेवा सुविधा विस्तार गर्न सके धनकुटा तथा आसपासका नागरिकले उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता थप कम हुने अपेक्षा गरिएको छ ।

रक्तसञ्चार सेवा केन्द्र उद्घाटनका अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए । केन्द्र सञ्चालनका लागि आर्थिक सहयोग गर्ने समाजसेवी राजेन्द्रकुमार राउत, द्रोणप्रसाद गुरागाईं, विजय सन्तोषी राई, विदुर खवासलगायत सहयोगदातालाई समारोहमा सम्मान गरिएको थियो ।