चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी रहेको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन चुनौती भइरहेको छ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिएका छन्। २५० मिटर लामो सुरुङमध्ये हालसम्म करिब १०० मिटर भाग सफा गरिएको छ।

तर म्यानुअल रूपमा मात्र उद्धार कार्य अगाडि बढाउन कठिन भएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउने तयारीलाई उच्च प्राथमिकता दिइएको छ। एक्स्काभेटर पुर्‍याउन स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले शनिबारदेखि सडक निर्माणको काम अघि बढाइएको छ।

सुरुङमार्फत नै एक्स्काभेटर लैजाने विकल्पमा पनि काम भइरहेको छ। यसका लागि सुरुङको करिब १०० मिटर भागमा थुप्रिएको माटो हटाउने कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ। ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउने प्रयास पनि जारी छ।

भौगोलिक र प्राविधिक चुनौती कठिन भए पनि उद्धार प्रयास नरोकेको अधिकारीहरूले बताएका छन्। पहुँच सडक विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्रको भग्नावशेष हटाउने कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अगाडि बढाइएको छ।