रसुवा बाढी आएको ११ औँ दिन दुई चमत्कारिक उद्धार


नुवाकोट । रसुवा बाढी आएको ११औँ दिन शनिबार नुवाकोटमा उद्धारका दुई चमत्कारिक घटना भएका छन्। बाढीपहिरोले पुरिएको घरको भग्नावशेष र जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको हो।

विदुर नगरपालिका–१० बेत्रावतीमा बाढीपहिरोले पुरिएको घरबाट ५५ वर्षीया चण्डिका श्रेष्ठलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। उद्धारपछि उनले पानी पिएकी थिइन् भने बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

यस्तै, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञको टोलीले सकुशल बाहिर निकालेको छ।

यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट पनि दुई जनाको जीवितै उद्धार गरिएको थियो। लगातार दुई दिन जीवितै उद्धार हुन थालेपछि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानप्रति थप आशा जागेको छ।