बाढी प्रभावित नुवाकोटमा फैलियो लम्पी स्किन रोग

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि विज्ञहरूले महामारी फैलिन सक्ने जोखिम औंल्याइरहेका बेला त्रिशूली क्षेत्रमै लम्पी स्किन रोग फैलिएको छ।

नुवाकोट जिल्लाको विदुर नगरपालिका–७, टुप्चेतार क्षेत्रमा रहेका गाईहरूमा लम्पी स्किन रोग देखिएको हो। विदुर नगरपालिकामा कार्यरत पशु चिकित्सक डा. सुजाता अधिकारीका अनुसार उक्त क्षेत्रमा गाईहरूमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ।

दूध दिइरहेका तथा ब्याउने अवस्थामा रहेका गाईहरूसमेत लम्पी स्किनबाट संक्रमित भएपछि किसानहरू थप मारमा परेका छन्। रोगका कारण गाईहरूमा ज्वरो आउने, जोर्नीहरू सुन्निनेलगायतका लक्षण देखिन थालेका छन्।

उक्त क्षेत्रमा किसानहरूसँग करिब १५० वटा गाईभैंसी रहेको बताइएको छ। भोटेकोशीमा आएको बाढीपछि नुवाकोट–७, टुप्चेतार क्षेत्र त्रिशूली पारिसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ। हाल अत्यावश्यक सामग्रीहरू तुइनमार्फत वारपार गराउने अवस्था रहेको छ भने स्थानीय बासिन्दाहरू दिनभर लाइन बसेर मात्र वारिपारि गर्न सक्ने अवस्था रहेको बताइएको छ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार लम्पी स्किन रोग फैलिएको क्षेत्रमा भोलि भदौ २२ गते लम्पी स्किन रोगविरुद्धको केही मात्रा खोप पठाउने तयारी गरिएको छ। नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले आवश्यकताअनुसार आफूहरूको टोली उक्त क्षेत्रमा परिचालन गरिने बताएका छन्। यसअघि केही दिन पहिला मात्रै नेपाल भेटेरिनरी एसोसिएसनले उक्त क्षेत्रमा आवश्यक भेटेरिनरी औषधिहरू तुइनमार्फत पठाएको थियो।

बाढीका कारण सडक सम्पर्क विच्छेद भएको र पशुमा संक्रामक रोगसमेत फैलिन थालेकाले प्रभावित क्षेत्रमा खोप, औषधि तथा पशु स्वास्थ्यकर्मीको थप व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।