थिम्पु । कुकुरबाट मानिसमा सर्ने रेबिज उन्मूलन गर्ने दक्षिण–पूर्वी एसियाकै पहिलो देश भुटान बनेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भुटानमा कुकुरबाट मानिसमा सर्ने रेबिज उन्मूलन भएको औपचारिक घोषणा गरेको हो।
डब्ल्यूएचओका अनुसार जुन २०२३ देखि भुटानमा कुकुरबाट सर्ने रेबिजका कारण कुनै पनि मानिसको मृत्यु भएको छैन। यही उपलब्धिका आधारमा भुटानले रेबिज नियन्त्रण तथा उन्मूलनमा महत्वपूर्ण सफलता हासिल गरेको हो।
डब्ल्यूएचओको टोलीले सन् २०२६ अगस्ट १७ देखि २२ गतेसम्म भुटानमा स्थलगत निरीक्षण गरेको थियो। टोलीले रेबिज नियन्त्रण कार्यक्रम, स्वास्थ्य संस्था, प्रयोगशाला, रोगसम्बन्धी अभिलेख तथा सीमा क्षेत्रको अवस्थाबारे अध्ययन गरेको थियो।
कसरी सम्भव भयो रेबिज नियन्त्रण?
भुटानले एक दशकभन्दा बढी समयदेखि मानिस, जनावर र वातावरणको स्वास्थ्यलाई एकीकृत रूपमा हेर्ने ‘एक स्वास्थ्य’ अवधारणाअनुसार रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसअन्तर्गत देशभर कुकुरलाई व्यापक रूपमा रेबिजविरुद्धको खोप लगाउने, कुकुरको संख्या व्यवस्थापन गर्ने, रोगको निगरानी बढाउने तथा समुदायमा जनचेतना फैलाउने कामलाई प्राथमिकता दिइएको थियो।
कुकुरले टोकेपछि तत्काल घाउ सफा गर्ने, रेबिजविरुद्धको खोप लगाउने र आवश्यक परे रेबिज प्रतिरोधी औषधि उपलब्ध गराउने व्यवस्था पनि भुटानले निःशुल्क रूपमा सञ्चालन गर्दै आएको थियो।
२०३० को लक्ष्यतर्फ महत्वपूर्ण उपलब्धि
डब्ल्यूएचओले भुटानको सफलतालाई सन् २०३० सम्म कुकुरबाट मानिसमा हुने रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने विश्वव्यापी लक्ष्यतर्फको महत्वपूर्ण उपलब्धि का रूपमा लिएको छ।
भुटानले आगामी दिनमा पनि देशका सबै २० जिल्लामा निःशुल्क रेबिज उपचार सेवा, कुकुरमा रेबिजविरुद्धको खोप, कुकुर संख्या व्यवस्थापन तथा रोग निगरानीलाई निरन्तरता दिने जनाएको छ।
रेबिज पुनः देशभित्र प्रवेश गर्न नदिन भारतसँगको सीमापार समन्वयलाई थप बलियो बनाउने योजना पनि भुटानले अघि सारेको छ।
रेबिजमा कुकुर नै मुख्य स्रोत
डब्ल्यूएचओका अनुसार विश्वभर मानिसमा हुने रेबिज संक्रमणमध्ये ९९ प्रतिशतसम्म कुकुरबाट हुने गरेको छ। त्यसैले कुकुरमा प्रभावकारी खोप, संख्या व्यवस्थापन, रोग निगरानी र मानिसमा समयमै उपचार उपलब्ध गराउनु रेबिज उन्मूलनका लागि महत्वपूर्ण मानिन्छ।
भुटानको यो उपलब्धिले नेपालसहित कुकुरबाट सर्ने रेबिज नियन्त्रणका लागि प्रयास गरिरहेका दक्षिण एसियाली मुलुकलाई पनि महत्वपूर्ण सन्देश दिएको छ।






