इन्डियन इम्युनोलोजिकल्स द्वारा उत्पादित रेबिज खोपको ब्याच पोटेन्सी परीक्षणमा असफल

इन्डियन इम्युनोलोजिकल्सले "रेबिज खोप" नेपाल,दक्षिण अफ्रिका, टर्की, भियतनाम, कम्बोडिया, जिम्बाब्वे, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत ४० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ।

नयाँदिल्ली । भारतको औषधि नियामकले व्यापक रूपमा प्रयोग हुँदै आएको इन्डियन इम्युनोलोजिकल्स लिमिटेडद्वारा उत्पादित रेबिज खोपको ब्याच पोटेन्सी परीक्षणमा असफल अब्हेयर्‍याब नामक रेबिज खोपको एक ब्याचलाई मापदण्डविपरीत तथा सम्भावित नक्कली औषधिका रूपमा पहिचान गरेको छ। सरकारी प्रयोगशालामा गरिएको पोटेन्सी परीक्षणमा उक्त खोप असफल भएपछि सरकारले अनुसन्धान अघि बढाएको हो।

समाचार संस्था रोयटर्सले प्राप्त गरेको सरकारी दस्तावेजअनुसार, भारतको औषधि नियामकले अब्हेयर्‍याबको सम्बन्धित ब्याचबारे अनुसन्धान अघि बढाएको हो।

भारतमा करिब ६ हजार मानिसको रेबिजका कारण वार्षिक मृत्यु हुने अनुमान गरिएको छ। यस्तो अवस्थामा रेबिजविरुद्धको प्रमुख सुरक्षात्मक उपायका रूपमा प्रयोग हुँदै आएको खोपको गुणस्तर र प्रामाणिकतामाथि प्रश्न उठ्नु गम्भीर विषय बनेको छ।

इन्डियन इम्युनोलोजिकल्सले दुई दशकभन्दा बढी समयदेखि भारत तथा अन्य देशमा अब्हेयर्‍याबको २१ करोडभन्दा बढी मात्रा आपूर्ति गरिसकेको जनाएको छ। कम्पनीका अनुसार सन् २०२५ को अन्त्यतिर भारतको मानव रेबिज खोप बजारमा उसको करिब ४० प्रतिशत हिस्सा थियो।

नियामकले गर्‍यो कडा निगरानीको निर्देशन

भारतका औषधि नियन्त्रक महानियन्त्रक राजीव सिंह रघुवंशीले अगस्ट २७ मा राज्यका औषधि नियामकलाई पत्र पठाउँदै अब्हेयर्‍याबको सम्बन्धित ब्याचको ओसारपसार तथा वितरणमा कडा निगरानी राख्न निर्देशन दिएका छन्।

सरकारी केन्द्रीय औषधि प्रयोगशालाले गरेको परीक्षणमा उक्त खोपको नमुना आवश्यक पोटेन्सी मापदण्ड पूरा गर्न असफल भएको थियो। प्रयोगशालाले नमुनालाई ‘मापदण्डअनुरूप गुणस्तर नभएको’ र ‘गलत विवरणसहितको औषधि’ भनेर वर्गीकरण गरेको सरकारी दस्तावेजमा उल्लेख छ।

अन्य परीक्षण पास भए पनि प्रामाणिकतामाथि प्रश्न

प्रयोगशालामा गरिएको परीक्षणमा उक्त खोपले स्टेरिलिटी, मोइस्चर र आइडेन्टिटीसम्बन्धी परीक्षण भने पास गरेको थियो। तर परीक्षण गरिएको नमुना र नियामकीय परीक्षणका लागि यसअघि कम्पनीको एक इकाइले बुझाएको सोही खोपको सुरक्षित राखिएको नमुनाबीच महत्वपूर्ण भिन्नता भेटिएको थियो।

ती भिन्नतामा लेबल, प्याकेजिङमा प्रयोग गरिएको डिजाइन (आर्टवर्क), क्यूआर कोड प्रमाणीकरण, क्यापको रङ, लाइसेन्स विवरण तथा प्याकेजिङमा लेखिएको सामग्रीसमेत रहेका छन्।

यी निष्कर्षले नमुनाको पहिचान र प्रामाणिकतामाथि गम्भीर प्रश्न उठाएको भन्दै नियामकले उक्त खोप भारतको औषधि तथा प्रसाधन सामग्री ऐन, १९४०अन्तर्गत नक्कली औषधि हुन सक्ने विषयमा अनुसन्धान आवश्यक रहेको जनाएको छ।

अब्हेयर्‍याब उत्पादन गर्ने कम्पनी इन्डियन इम्युनोलोजिकल्स र भारतको संघीय औषधि नियामकले यस विषयमा प्रतिक्रिया माग्दै पटक–पटक गरिएको अनुरोधको जवाफ दिएका छैनन्।

यसअघि पनि अब्हेयर्‍याब नक्कली भएको चेतावनी

अब्हेयर्‍याबमाथि प्रश्न उठेको यो पहिलो घटना भने होइन। जनवरी २०२५ मा इन्डियन इम्युनोलोजिकल्सले नक्कली अब्हेयर्‍याब बजारमा प्रवेश गरेको जानकारी भारतको औषधि नियामकलाई गराएको थियो।

त्यसपछि अमेरिका, बेलायत र अस्ट्रेलियाका स्वास्थ्य निकायहरूले भारतमा उक्त खोप लगाएका हुन सक्ने यात्रुहरूलाई लक्षित गर्दै चेतावनी जारी गरेका थिए।

त्यतिबेला कम्पनीले उक्त नक्कली ब्याच आफूले उत्पादन नगरेको, घटना अलग प्रकृतिको रहेको र बजारमा अन्य नक्कली मात्रा प्रचलनमा रहेको जानकारी आफूलाई नभएको जनाएको थियो।

भारतमा हरेक वर्ष हजारौँको रेबिजबाट मृत्यु

भारतीय चिकित्सा अनुसन्धान परिषद् अन्तर्गतको नेसनल इन्स्टिच्युट अफ इपिडिमियोलोजीले सन् २०२४ मा प्रकाशित गरेको अध्ययनअनुसार भारतमा हरेक वर्ष अनुमानित ५ हजार ७२६ मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ।

अब्हेयर्‍याब मानिसमा प्रयोग हुने रेबिजविरुद्धको खोप हो। यसलाई रेबिजको जोखिममा पर्नुअघि तथा कुकुर वा अन्य जनावरले टोकेपछि सुरक्षाका लागि प्रयोग गरिन्छ। खोप विभिन्न चरणमा लगाइन्छ र भारतका सरकारी खोप कार्यक्रममार्फत पनि यसको आपूर्ति हुँदै आएको छ।

कति मात्रा बजारमा पुग्यो भन्ने अझै खुलेको छैन

सरकारी दस्तावेजमा अनुसन्धानमा रहेको ब्याचका कति मात्रा बजारमा वितरण भइसकेका छन् भन्ने खुलाइएको छैन। साथै, उक्त ब्याचका खोप भारतबाहिर निर्यात भएका थिए कि थिएनन् तथा पछिल्लो चेतावनीबारे विदेशी औषधि नियामकलाई जानकारी गराइएको छ कि छैन भन्ने पनि स्पष्ट छैन।

इन्डियन इम्युनोलोजिकल्सले अब्हेयर्‍याब नेपाल,दक्षिण अफ्रिका, टर्की, भियतनाम, कम्बोडिया, जिम्बाब्वे, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत ४० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ।