काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्य संयोजन समितिले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा गरिएको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार, राहत र पुनर्निर्माणका चुनौतीबारे विस्तृत छलफल गरेको थियो।
बैठकले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र बनाउने, राहत वितरणलाई व्यवस्थित गर्ने र अस्थायी आवासको व्यवस्था गरी प्रभावित परिवारको पुनर्स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
त्यस्तै, बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् लगायत अत्यावश्यक सेवा तथा पूर्वाधार तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइएको छ। प्रभावित नागरिकका लागि सुरक्षित आवास तथा पुनर्स्थापनाको दीर्घकालीन योजना अघि बढाउने र जोखिमयुक्त क्षेत्रको वैज्ञानिक मूल्याङ्कन गर्ने प्रस्तावसमेत पारित गरिएको छ।
विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पार्टीले राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणालीको विस्तार र द्रुत प्रतिकार्य टोली गठन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को जोखिम बढ्दै गएको भन्दै बैठकले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई प्रभावकारी रूपमा उठाउनुपर्ने निष्कर्ष निकालेको छ।
बाढी, पहिरोलगायत विपद्को सामना गर्न राष्ट्रिय एकता, सहकार्य र प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै नेकपाले प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएको छ।
बैठकले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहत, सुरक्षित पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
पार्टीका अनुसार २४ बुँदे प्रस्तावमा तत्कालीन राहत तथा उद्धारदेखि दीर्घकालीन पुनर्निर्माण, विपद् पूर्वतयारी, जलवायु परिवर्तनको असर न्यूनीकरण र विपद् प्रतिकार्य क्षमता अभिवृद्धिसम्मका विषय समेटिएका छन्।






