काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको साहस, समर्पण र योगदानको उच्च प्रशंसा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विपद्का बेला सुरक्षाकर्मीले आफ्नो ज्यानको जोखिम मोलेर नागरिकको उद्धार र सुरक्षामा देखाएको अदम्य साहसको प्रशंसा गरेका हुन्।
प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा भोटेकोशी बाढी आउँदा सुरक्षाकर्मीले देखाएको साहसलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार कारागारमा ९२३ जना कैदीबन्दी रहेको अवस्थामा बाढीको जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीले सबै कैदीबन्दीलाई सुरक्षित रूपमा माथिल्लो भवनमा सारेका थिए।
बाढीका कारण कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खालमा क्षति पुगेको तथा भवनको पहिलो तलासम्म लेदोसहित पानी पसेको अवस्थामा समेत सुरक्षाकर्मीले उद्धार कार्यलाई निरन्तरता दिएको प्रधानमन्त्री शाहले बताएका छन्।
बाढीको मौका छोपेर पर्खाल र गेट तोडेर करिब १०० मिटरसम्म भागेका ५० जना कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको उनले उल्लेख गरेका छन्। कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भए पनि उनीहरूले वरपरका स्थानीय बासिन्दाको समेत ज्यान जोगाएको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री शाहले अहिले पनि सुरक्षाकर्मीका ब्यारेक तथा कार्यालय लेदोमा रहेको, पहुँचमार्ग अवरुद्ध भएको र खानेपानीको समस्या रहेको बताएका छन्। यस्तो कठिन परिस्थितिमा समेत सुरक्षाकर्मीले टाढाबाट पानी बोकेर कैदीबन्दीलाई खुवाउने, बाटो खुलाउने तथा उच्च मनोबलका साथ ड्युटीमा खटिने काम गरिरहेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ। स्थलमार्ग तथा हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै कतिपय अवस्थामा सुरक्षाकर्मीले घाइतेलाई आफ्नै काँधमा बोकेर अस्पताल पुर्याएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार शव व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी तथा संक्रामक रोग फैलिन नदिन र राहत शिविरमा रहेका नागरिकको मनोबल बढाउनसमेत तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन्।
उनले बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको उल्लेख गरेका छन्। आफ्ना साथी गुमाएको पीडाका बाबजुद सुरक्षाकर्मीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा काम गरिरहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान गर्नुपर्ने बताएका छन्। साथै, सुरक्षाकर्मीको सेवा–सुविधाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने संकेतसमेत गरेका छन्।






