काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनामा घरजग्गाको कारोबार, जग्गाको कित्ताकाट र राजस्व वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार ९.३९ प्रतिशतले घरजग्गाको कारोबार बढ्दा त्यसबाट संकलन हुने राजस्व १६.९२ प्रतिशतले बढेको छ ।
कित्ताकाट ह्वात्तै बढेको छ । गत वर्षको साउनमा २० हजार ९०१ वटा कित्तालाई टुक्र्याएर ४२ हजार ५६३ वटा बनाइएको थियो भने यस वर्षको साउनमा ३० हजार ६८ वटा कित्तालाई ६१ हजार १०२ टुक्रामा विभाजन गरिएको छ ।
गत आर्थिक वर्षको साउनमा १ लाख ४ हजार २१८ पटक घरजग्गाको कारोबार भएको थियो । त्यसमध्ये ३१ हजार ६२१ पटक लिखत पारित भएको थियो । चालु आवको साउनमा १ लाख १४ हजार ८ पटक कारोबार हुँदा ३३ हजार ९७८ पटक लिखत पारित भएको छ ।
यस्तै, गत वर्षको साउनमा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ घरजग्गाको कारोबारबाट राजस्व संकलन भएको थियो भने चालु आवको साउनमा ३ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ संकलन भएको छ ।
यहाँ घरजग्गाको कारोबार वृद्धिको तुलनामा राजस्व वृद्धि उच्च देखिएको छ । सरकारले बजेट मार्फत चालु आर्थिक वर्षदेखि लागु हुनेगरी घरजग्गाको पूँजीगत लाभकर वृद्धि गरेको थियो । कारोबारको वृद्धिको तुलनामा राजस्व वृद्धि उच्च भएको जानकारहरु बताउँछन् ।
५ वर्षभन्दा कम अवधिसम्म होल्ड गरेर घरजग्गा बिक्री गर्दा प्राप्त लाभको ७.५ प्रतिशत राजस्व तिर्नु पर्थ्यो । त्यसैगरी, ५ वर्षसम्म होल्ड गरेर बिक्री गर्दा ५ प्रतिशत कर तिर्नु पर्थ्यो ।
चालु आवको बजेट मार्फत ५ प्रतिशतलाई ७.५ र ७.५ प्रतिशतलाई १० प्रतिशत पुर्याइएको थियो । जसले गर्दा राजस्व वृद्धिमा टेवा पुगेको जानकारहरु बताउँछन् ।






