नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध घुस मागेको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा कार्यरत दुई कर्मचारीविरुद्ध घुस मागेको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन सर्वेक्षक अमितकुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार चन्द्रागिरि नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलानको काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागिएको उजुरी परेको थियो। उजुरीमाथि अनुसन्धान गर्ने क्रममा दुवै कर्मचारीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको पुष्टि भएको आयोगको दाबी छ।

साबिक मच्छेगाउँ–९ग तथा हाल चन्द्रागिरि–९ग मा रहेको जग्गाको भूमि प्रशासनसम्बन्धी अभिलेखअनुसार आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने अवस्थामा कर्मचारीहरूले सेवाग्राहीसँग रकमको मोलमोलाइ गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार दुवै कर्मचारीले नियमअनुसार गर्नुपर्ने काम सम्पन्न नगरी सेवाग्राहीलाई हैरानी दिएको तथा आफ्नो निम्ति ५० हजार रुपैयाँ घुस मागेका थिए। उनीहरूले रकम प्रत्यक्ष रूपमा आफूले नलिई कार्यालय सहयोगीमार्फत बुझ्न सहमति जनाएकोसमेत अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर भएको ठहर गर्दै आयोगले दुवै प्रतिवादीविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।

आयोगले श्रेष्ठ र पार्धेविरुद्ध उक्त ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा सोही दफाअनुसार बिगो बराबर जरिवानाको सजाय मागदाबी गरेको जनाएको छ।