एनपिएलको टिकट बिक्री गर्ने अधिकार इसेवालाई

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवा लिमिटेडले पाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले बोलपत्र तथा खरिद प्रक्रिया पूरा गर्दै एनपिएलको मिडिया तथा टिकट बिक्रीसम्बन्धी अधिकार विभिन्न कम्पनीलाई प्रदान गरेको हो । क्यानका अनुसार इसेवाले रु ८५ लाखमा टिकट बिक्रीको अधिकार प्राप्त गरेको छ । टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानले र पाँच प्रतिशत इसेवाले पाउनेछ ।

त्यसैगरी, एनपिएलको विश्वव्यापी ओटीटी प्रसारण अधिकार नेट टिभी प्रालिले रु १८ करोड ४ लाखमा प्राप्त गरेको छ । नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार भने हिमालय टेलिभिजनले रु १४ करोड ६४ लाखमा पाएको क्यानले जनाएको छ ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।