चितवन । चितवन कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोगसँगै श्रमदान गरी आवश्यक सामग्री उपलब्ध गराएका छन् ।
कैदीबन्दीले संकलन गरेको रकम तथा श्रमदानबाट खरिद र निर्माण गरिएका सामग्री सोमबार कारागार परिसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरिएको हो ।
उनीहरूले डसना, ब्ल्याङ्केट, तन्ना, सिरानी, सिरानीका खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मञ्जन र काइँयोसहितका सामग्री १२५ सेट उपलब्ध गराएका छन् । कैदीबन्दीले रु एक सयदेखि रु दुई हजारसम्म सहयोग रकम संकलन गरेका थिए ।
कुल रु तीन लाख ६७ हजार ३६ बराबरका सामग्री खरिद गरिएको थियो भने डसना र सिरानी भने कारागार परिसरमै कैदीबन्दीले श्रमदान गरी तयार गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेका कैदीबन्दीबाट बाढीपीडितका लागि गरिएको सहयोग अनुकरणीय र नमुनायोग्य रहेको बताए ।
चितवन कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन् । तीमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन् ।






