नारायणगढ । चेपाङ समुदायले यस वर्ष आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) घरघरमै मनाएका छन् । भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोका कारण देश शोक र पीडामा रहेकाले विगतका वर्षझैँ सामूहिक तथा औपचारिक कार्यक्रम नगरी परिवार र आफन्तबीच परम्परागत विधिअनुसार न्वागी मनाइएको हो ।
नेपाल चेपाङ सङ्घका अनुसार हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी यसपटक तडकभडक नगरी मनाइएको छ । सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै सामूहिक कार्यक्रम नगर्ने निर्णय गरिएको बताए ।
‘तडकभडक नगरी यस वर्ष न्वागी आ–आफ्नो घरमा मनायौँ । देशमा भएको घटनाका कारण सामूहिक कार्यक्रम गरेनौँ,’ उनले भने ।
यद्यपि न्वागीका धार्मिक तथा सांस्कृतिक विधिलाई भने घरघरमै निरन्तरता दिइएको छ । चेपाङ समुदायमा भदौ महिना विशेष मानिन्छ । भदौभरि आफूलाई अनुकूल समयमा न्वागी मनाउने चलन रहे पनि ‘भदौको बिस बाइस’ परम्पराअनुसार भदौ २२ लाई मुख्य दिनका रूपमा लिइन्छ ।
न्वागी नयाँ अन्नबाली तथा फलफूल प्रकृति, भूमि र पितृलाई अर्पण गरेपछि मात्र उपभोग गर्ने परम्परासँग जोडिएको छ । पाखापखेरामा लगाइएका घैया धान, मकै, पिँडालु, गाभालगायत नयाँ अन्नबाली तथा फलफूल पाक्ने समयमा यो पर्व मनाउने गरिन्छ ।
न्वागीको अघिल्लो रात चेपाङ समुदायका झाँक्री (पान्दे) ले फलाक्ने, जाग्राम बस्ने, पूजा गर्ने तथा पितृको स्मरण र आह्वान गर्ने परम्परा छ । त्यसपछि नयाँ उत्पादन भएका अन्न तथा फलफूल पितृ र देवतालाई चढाइन्छ । पूजापछि पान्देले आशीर्वाद दिने चलन छ ।
न्वागीमा घैया धान अनिवार्यजस्तै मानिन्छ । त्यसबाहेक गाभा, पिँडालु, घिरौँला, निबुवा, कागतीलगायत नयाँ उब्जनी भएका फलफूल तथा तरकारीसमेत चढाउने गरिन्छ । भूमि र पितृलाई अर्पण गरेपछि मात्रै नयाँ अन्न तथा फलफूल खाने परम्परा रहेको छ ।
सङ्घका महासचिव सन्तबहादुर चेपाङले यस वर्ष औपचारिक कार्यक्रम नगरी घरमै आफन्तसँग भेटघाट गरेर न्वागी मनाइएको बताए ।
‘यसपालि हामीले सामूहिक कार्यक्रम गरेनौँ । आ–आफ्नो घरमा आफन्त भेटघाट गरेर मिठोमसिनो खाँदै न्वागी मनाइरहेका छौँ,’ उनले भने ।
सङ्घकी सदस्य दीपा चेपाङले बाढीका कारण यस वर्षका लागि तय गरिएको सामूहिक कार्यक्रम हुन नसकेको बताइन् । उनका अनुसार घरघरमै धार्मिक विधि पूरा गर्दै न्वागी मनाइएको छ ।
इच्छाकामना गाउँपालिका–२ मायाटारका शिक्षक पदमबहादुर प्रजाले पनि यस वर्ष न्वागी उत्साहपूर्वक मनाउने वातावरण नरहेको बताए । उनका अनुसार न्वागी चेपाङ समुदायको मुख्य पर्व भएकाले यसको निरन्तरता आवश्यक छ । नयाँ पुस्तालाई पर्वको महत्व र मौलिक संस्कृति बुझाउँदै भावी पुस्तासम्म यसको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।
चेपाङ समुदाय प्रकृति र धर्तीपूजक समुदायका रूपमा चिनिन्छ । नयाँ अन्नबाली र फलफूल पाकेपछि भूमि तथा पितृलाई चढाएर मात्र खाने परम्परा उनीहरूको मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा हो ।
समुदायमा नयाँ पुस्ताबीच न्वागीको महत्व क्रमशः घट्दै गएको र धर्म परिवर्तनका कारण मौलिक धर्म तथा संस्कृति लोप हुने जोखिम बढेको भन्दै आफ्नो धर्म, संस्कृति र परम्परा संरक्षणका लागि समुदाय एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।






