‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग

कपिलवस्तु । नटुवा समुदायले आफूहरूलाई लोपोन्मुख जातिको सूचीमा समावेश गरी राज्यबाट पाउनुपर्ने सेवा–सुविधा उपलब्ध गराउन माग गरेका छन्। कपिलवस्तुमा मात्रै करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास रहेको बताइएको छ।

कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, मायादेवी गाउँपालिकाको अभिराव तथा यशोधरा गाउँपालिकाको वसन्तपुरलगायत क्षेत्रमा नटुवा समुदाय बस्दै आएको छ।

मायादेवी गाउँपालिका–२ अभिरावका नेतराम नटुवाले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गर्दै पटकपटक काठमाडौँ पुगेर सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको बताउनुभयो। उहाँका अनुसार समुदायले तीन दशकदेखि यही माग गर्दै आए पनि राज्यले चासो दिएको छैन।

शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा मात्रै करिब १४ घरमा दुई सयभन्दा बढी नटुवा बसोबास गर्दै आएका छन्। सुकुमबासी बस्तीमा बस्दै आएका उनीहरूसँग नेपाली नागरिकताको प्रमाणपत्रबाहेक घरजग्गा तथा अन्य आधारभूत सम्पत्तिसमेत नभएको बताइएको छ।

शिक्षा, स्वास्थ्य, रोजगारी र स्थायी बसोबासको अभावमा समुदायको दैनिकी कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ। दैनिक गुजारा चलाउनसमेत समस्या भएपछि कतिपय नटुवा पछिल्लो समय भिक्षा मागेर जीवनयापन गर्न बाध्य भएको उनीहरू बताउँछन्।

शुद्धोधन–१ प्रगतिनगरका महेन्द्र नटुवाले आफूहरूभन्दा माथिल्लो जातिका रूपमा रहेको पत्थरकट्टा समुदायले राज्यबाट सुविधा पाए पनि नटुवा समुदाय भने बेवास्तामा परेको गुनासो गर्नुभयो।

स्थानीय लक्ष्मी नटुवाका अनुसार पत्थरकट्टा समुदायलाई अल्पसङ्ख्यक तथा लोपोन्मुख जातिको सूचीमा समावेश गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइए पनि नटुवा समुदाय त्यस्तो सुविधाबाट वञ्चित छ। उहाँले नटुवा समुदायमाथि लामो समयदेखि सामाजिक विभेद हुँदै आएको गुनासो गर्नुभयो।

सरकारी सुविधा र अधिकारको माग गर्दै विभिन्न सरकारी निकायमा पुगे पनि सुनुवाइ नभएको समुदायका सदस्यहरूको भनाइ छ। राजनीतिक दलका उम्मेदवारलाई वर्षौंदेखि मतदान गर्दै आए पनि निर्वाचित भएपछि आफूहरूको समस्या बुझ्न कोही नआएको उनीहरूको गुनासो छ।

स्थानीय पण्डित नटुवाले प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित मन्त्रालयमा पटकपटक ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै उपलब्धि नभएको बताउनुभयो। “हामी पनि यही देशका नागरिक हौँ, नागरिकताबाहेक हामीसँग केही छैन,” उहाँले भन्नुभयो।

नटुवा समुदायका अनुसार लोपोन्मुख जातिको सूचीमा सूचीकृत पत्थरकट्टा समुदायका व्यक्तिले मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। तर नटुवा समुदायले भने त्यस्तो सुविधा पाउन सकेको छैन।

परम्परागत रूपमा सर्प समात्ने तथा उद्धार गर्ने काममा दक्ष नटुवा समुदाय पछिल्लो समय रोजगारीका अवसर नहुँदा अन्य काम र भिक्षामा निर्भर हुन थालेको बताइन्छ। शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पहुँच नहुँदा समुदायको सामाजिक तथा आर्थिक अवस्था कमजोर बन्दै गएको स्थानीयको भनाइ छ।

नटुवा समुदायको परम्परागत सीप संरक्षण तथा व्यवसायीकरण गर्ने उद्देश्यले कपिलवस्तुमा सर्प उद्धारसम्बन्धी सीप विकास तालिम सञ्चालन गरिएको छ। त्यस्तै, समुदायका युवालाई स्थानीय ब्यान्डबाजा बजाउने तालिमसमेत प्रदान गरिएको बताइएको छ।