काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधि सभाको बुधबार बस्ने बैठकका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग सम्बन्धित तीनवटा मुख्य कार्यसूची तय गरिएको छ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भदौ २४ गते बुधबार दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री गौतमले विभिन्न विधेयक तथा प्रस्ताव प्रस्तुत गर्नेछिन्।
महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सम्भावित कार्यसूचीअनुसार मन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन्। अनुमति प्राप्त भएपछि सोही बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ।
यसैगरी, एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि मन्त्री गौतमले प्रतिनिधि सभामा पेस गर्ने कार्यक्रम रहेको छ।
यसरी बुधबारको बैठकमा कानुन मन्त्रालयसँग सम्बन्धित तीनवटा महत्वपूर्ण एजेन्डा अघि बढ्ने सम्भावना छ।






