काठमाडौँ ।सङ्घीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
निर्धारित कार्यतालिकाअनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यक्रम छ । त्यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रक्रिया अघि बढाइनेछ ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने सम्भावित कार्यसूचीसमेत रहेको छ ।
यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ ।






