कात्तिक ३, कैलाली ।
कैलालीको मोहना नदी क्षेत्रमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्य छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन ।
सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको छ । ‘हालै मृतक विकको शव पनि निकालिएको छ । धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने देखिएको छ,’ उनले भने, ‘विस्तृतमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्नेछ ।’
विकसँगै शनिबार साँझ बा५८प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ । नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ ।
असई विकले अस्थायी प्रहरी बिट, जुगेडाको नेतृत्व गरिरहेका थिए ।







