काठमाडौँ । नेपाल वायुसेवा निगमले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानी एक महिनासम्म निःशुल्क गर्ने भएको छ।
निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना अन्तर्राष्ट्रिय स्टेसनबाट नेपाल ल्याइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण हवाई ढुवानी शुल्क छुट दिने निर्णय गरेको हो।
निगमका अनुसार निःशुल्क ढुवानी सुविधा लिन राहत सामग्री पठाइने मुलुकस्थित नेपाली दूतावास वा सम्बन्धित दूतावाससँग समन्वय गर्नुपर्नेछ। दूतावासको आधिकारिक पत्रका आधारमा बाढी तथा विपद् प्रभावितका लागि पठाइएका सामग्रीमा मात्रै शुल्क छुट उपलब्ध हुनेछ।
राहतका नाममा हुन सक्ने दुरुपयोग रोक्दै वास्तविक प्रभावितसम्म सहायता पुर्याउन सहज होस् भन्ने उद्देश्यले दूतावासमार्फत सामग्री प्रमाणित गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ।
शुल्क छुटअन्तर्गत खाद्यान्न, औषधि, लत्ताकपडालगायत विपद् प्रभावित समुदायका लागि आवश्यक अन्य राहत सामग्री नेपाल ल्याउन सकिनेछ। सम्बन्धित दूतावासबाट राहत प्रयोजन प्रमाणित भएपछि निगमका अन्तर्राष्ट्रिय उडानमार्फत ती सामग्री निःशुल्क ढुवानी गरिनेछ।
विपद्का समयमा विदेशस्थित व्यक्ति, संस्था तथा विभिन्न समुदायबाट प्राप्त मानवीय सहयोगलाई छिटो र प्रभावकारी रूपमा नेपाल भित्र्याउने उद्देश्यले निर्णय गरिएको निगमले जनाएको छ।
निगमले यो सुविधाबाट विभिन्न मुलुक तथा संघसंस्थाले पठाउने राहत सामग्री शीघ्र नेपाल ल्याई प्रभावित समुदायसम्म पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।






