गोरखा । मनास्लु पदमार्गअन्तर्गत बाढीले पुल बगाएपछि अवरुद्ध बनेको बाटो स्थानीयले फड्के निर्माण गरी पुनः सञ्चालनमा ल्याएका छन्।
चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि काठका मुढा तेस्र्याएर फड्के निर्माण गरी पदमार्गमा आवतजावत खुलाइएको हो।
वडाध्यक्ष पेमा ग्याल्पो लामाका अनुसार गत आइतबार थेराङ खोलामा आएको बाढीले नाम्रुङस्थित फलामे पुल बगाएको थियो। त्यस्तै, बूढीगण्डकी नदीमा आएको बाढीले सुक्समस्थित झोलुङ्गे पुलसमेत बगाएपछि पदमार्ग अवरुद्ध भएको थियो।
थेराङमा फड्के निर्माण गरेपछि आवतजावत सहज भएको र सोमबार तथा मंगलबार सुक्सममाथि वैकल्पिक बाटो खनेर सुराङ खोलामाथि फड्के निर्माण गरिएको वडाध्यक्ष लामाले जानकारी दिए।
काठका मुढा राखेर दुवैतर्फ बार लगाई अस्थायी फड्के निर्माण गरिएको हो। सुराङ खोलाको फड्के तरेर स्याउबारी हुँदै नाम्रुङ पुग्ने वैकल्पिक बाटोसमेत तयार गरिएको छ।
आइतबार बिहान थेराङ खोलामा आएको बाढीले नाम्रुङका चार घर, दुई लघुजलविद्युत् आयोजना र एउटा पुल बगाएको थियो। बाढीका कारण बूढीगण्डकीको बहाव बढ्दा सुक्समस्थित झोलुङ्गे पुल बग्नुका साथै पहिरोले बाटोसमेत क्षतिग्रस्त बनाएपछि मनास्लु पदमार्ग अवरुद्ध भएको थियो।






