काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल व्यवस्थापनसँगै सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्रमा जनजीवन सहज बनाउन तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका हुन् ।
उनले भौगोलिक विकटताका कारण सडक यातायात सञ्चालनमा नेपालको क्षमता अपुग भए ठूला बेलिब्रिजलगायत आवश्यक पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन सुझाव दिए ।
जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने विषयलाई पनि अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्रीमार्फत पहल गर्नुपर्नेमा उनले जोड दिए ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आफूले पीडितको अवस्था र क्षति प्रत्यक्ष देखेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रभावित नागरिकको बसोबास तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित अघि बढाउनुपर्ने बताए ।
छलफलमा मन्त्रीद्वयले दसैंअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने लक्ष्यसहित दिनरात काम भइरहेको जानकारी गराएका थिए । उनीहरूका अनुसार बाढीपीडितका लागि अस्थायी टहरा तथा क्याप्सुल होम निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ ।
सरकारले वैकल्पिक सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको र लामो बेलिब्रिज निर्माणका लागि मित्रराष्ट्रहरूसँग सहयोग मागिसकेको जानकारी पनि मन्त्रीहरूले राष्ट्रपतिलाई गराए ।
परराष्ट्रमन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलको समेत सहभागिता थियो । मन्त्रीहरूले आवश्यक सामग्री आउने क्रममा रहेको र बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका अन्य योजनासमेत अघि बढाइएको जानकारी गराएका छन्।






