घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

छत्रकोट गाउँपालिका–५ मानकोट भ्यूडाँडामा घरेलु हतियार निर्माण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले स्थानीय बुद्धिबहादुर कामी, झुमिला विक र प्रेमबहादुर सिँजालीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुद्धिबहादुर कामीको घर तथा आरनमा खानतलासी गर्दा अवैध हतियार निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, विभिन्न औजार तथा जङ्गली जनावरका हड्डी र छाला फेला परेको थियो ।

त्यसक्रममा कामीका छिमेकी झुमिला विकको घरमा रहेको आरनबाट एक थान भरुवा बन्दुक तथा कामीसँग बन्दुक खरिद गरेको भनिएका प्रेमबहादुर सिँजालीको घरगोठबाट थप एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

प्रहरीले उनीहरूबाट दुई थान भरुवा बन्दुक, फलामका बन्दुकका नाल ४२ थान, बन्दुकका कुन्जी–बट आठ थान, काठका बट पाँच थान, फलामका गोली–छर्रा २२१ थान, भरुवा बन्दुकका गोली तीन थान, बारुद तथा हतियारका विभिन्न पाटपुर्जा बरामद गरेको जनाएको छ ।

त्यस्तै, हतियार निर्माणमा प्रयोग हुने आरनपङ्खा दुई थान, गेलेन्डर मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, भाइब्रेसन मेसिनलगायतका उपकरण तथा आरी, बसुला, पन्चकस, कैँची, हथौडालगायतका औजारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट जङ्गली जनावरका हड्डी तथा पाँच वटा छाला समेत बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।