बाढीप्रभावितका लागि यामाहा नेपालकाे १५ लाख १५ हजार सहयोग

काठमाडौं । रसुवालगायत देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि यामाहा नेपाल परिवारले १५ लाख १५ हजार रुपैयाँ सहयोग गरेको छ ।

यामाहा दुई–पांग्रे डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सञ्चालन गरेको सोलिडारिटी फन्डमार्फत १५ लाख रुपैयाँ योगदान गरिएको हो । त्यस्तै, यामाहा डिभिजनको जेन–जी टिमले आफ्नो व्यक्तिगत बचतबाट थप १५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

बाढीका कारण धेरै परिवारले घर, सम्पत्ति तथा आफन्त गुमाएकाले उनीहरूलाई राहत र सहयोग आवश्यक रहेको भन्दै यामाहा नेपाल परिवार, दुई–पांग्रे डिभिजन, डिलर तथा राइडरहरू सहयोग अभियानमा एकजुट भएका हुन् ।

कठिन परिस्थितिमा राष्ट्र र समुदायलाई साथ दिनु आफ्नो जिम्मेवारी भएको यामाहा नेपालले जनाएको छ । प्रभावित समुदायलाई राहतसँगै भरोसा प्रदान गर्ने उद्देश्यले सहयोग गरिएको कम्पनीको भनाइ छ ।

पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढिरहेका बेला प्रभावित समुदायलाई आवश्यक समयसम्म विभिन्न माध्यमबाट निरन्तर सहयोग र साथ दिने प्रतिबद्धता पनि यामाहा नेपालले जनाएको छ ।