काठमाडौँ। नेपाल नेत्रज्योति सङ्घले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ।
सङ्घका महासचिव भरतबहादुर चन्दले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक तथा भौचर हस्तान्तरण गर्नुभयो। सङ्घका अस्पताल, आँखा उपचार केन्द्र, जिल्ला शाखालगायत संस्थागत स्रोतबाट रु. ९९ लाख ७४ हजार ५०६ तथा कर्मचारी र स्वयंसेवकबाट रु. ४१ लाख ६६ हजार ६३५ सङ्कलन गरिएको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीबाट प्रभावित नागरिकको दैनिक जीवन, स्वास्थ्य तथा जीविकोपार्जनमा परेको गम्भीर असरलाई ध्यानमा राख्दै सरकारले आह्वान गरेको उद्धार कोषमा योगदान गर्ने निर्णयअनुसार सङ्घले रकम सङ्कलन गरेको जनाएको छ।
सङ्घअन्तर्गतका विभिन्न अस्पताल तथा आँखा उपचार केन्द्र, जिल्ला शाखा, समाजसेवी, शुभेच्छुक, कर्मचारी तथा स्वयंसेवकबाट प्राप्त सहयोगलाई एकीकृत गरी कोषमा जम्मा गरिएको हो।
आर्थिक सहयोगसँगै सङ्घले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई समेत प्राथमिकता दिएको छ। विपद्का कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई निःशुल्क आँखा परीक्षण, उपचार तथा परामर्श सेवा उपलब्ध गराउँदै आएको सङ्घले जनाएको छ।
सङ्घका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा नेपाल सरकारबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोग तथा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिने बताउनुभयो।
महासचिव चन्दका अनुसार नेपाल नेत्रज्योति सङ्घले हालसम्म ५ करोड २ लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरेको छ। सङ्घले हाल २८ आँखा अस्पताल र ४४ जिल्ला शाखाअन्तर्गतका २२६ आँखा उपचार केन्द्रमार्फत नेपाली तथा विदेशी नागरिकलाई आँखा सेवा प्रदान गर्दै आएको छ।
सङ्घले विपद्को कठिन समयमा प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य सुरक्षा तथा पुनःस्थापनाका लागि राज्य, नागरिक समाज, निजी क्षेत्र र विभिन्न सङ्घसंस्थाबीचको सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ।






