भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडकलाई भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गर्दै भदौको अन्तिमसम्ममा कृष्णभीरको सडक निर्माण सम्पन्न गरी यातायात सहज बनाउने प्रतिबद्धता जनाएपछि सोही लक्ष्यअनुसार काम अघि बढाइएको हो।

कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। निर्माण कार्यलाई चौबिसै घण्टा प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरेको छ। त्यसका कारण रातको समयमा समेत दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य भइरहेको छ।

नयाँ ट्रयाक निर्माणसँगै सम्भावित पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवै भागमा आवश्यक संरचना निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ। साथै, पृथ्वी राजमार्गका अन्य पाँच स्थानमा खसेका पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याउने कामसमेत समानान्तर रूपमा अघि बढाइएको छ।

गत भदौ १० गते आएको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीले सडक थप भासिएपछि सोही दिन सरकारी टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो। त्यसक्रममा प्रधानमन्त्री तथा पूर्वाधारमन्त्रीबीच सडक तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो।

त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिक टोलीले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए। अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई तत्काल यातायात सञ्चालनका लागि प्राथमिक उपायका रूपमा अघि बढाइएको हो।

निर्माण कार्य तीव्र पारिएसँगै भदौ महिनाभित्रै नयाँ ट्रयाक तयार गरी पृथ्वी राजमार्गमा यातायात सेवा पुनः सहज रूपमा सञ्चालनमा ल्याउने सरकारको लक्ष्य छ।