सुन्धाराको प्राकृतिक जलप्रवाह खोज्दै टुँडिखेलमा इनार खन्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारामा पानीको प्राकृतिक बहाव पुनःस्थापना गर्ने उद्देश्यले भूमिगत जलस्रोतको अवस्था अध्ययन थालेको छ। त्यसका लागि महानगरले टुँडिखेलको पश्चिम कुनामा इनार खनेर पानीको स्रोत र बहावबारे अध्ययन गरिरहेको हो।

सुन्धारा क्षेत्रमा ठूला संरचना तथा पूर्वाधार निर्माण भइसकेकाले भूमिगत पानीको अवस्था, प्राकृतिक बहाव र निकासको सम्भावनाबारे महानगरले अभियान कन्सल्टिङ्को सहयोगमा अध्ययन गरिरहेको जनाएको छ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले टुँडिखेलको पश्चिम कुनामा खनिएको १० फिट गहिरो इनारको निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा उनले परामर्शदाता टोलीलाई तोकिएको समयभित्र अध्ययन सम्पन्न गर्न तथा सुन्धारामा प्राकृतिक रूपमा जलप्रवाह गराउने लक्ष्यमा केन्द्रित हुन निर्देशन दिइन्। निरीक्षणमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईसहित इन्जिनियरहरूको टोली सहभागी थियो।

जल संरक्षण विज्ञ विश्वप्रकाश अमात्यका अनुसार इनारमा पानीको उपलब्धता अध्ययन गरेपछि मात्र भूमिगत जलस्रोतको अवस्थाबारे थप निष्कर्ष निकाल्न सकिनेछ। सुन्धाराको सतह इनार खनिएको स्थानभन्दा करिब १० फिट तल रहेकाले सोही गहिराइसम्म इनार खनिएको हो।

साढे तीन फिट गोलाइको इनार खन्ने क्रममा प्रत्येक एक फिटको अन्तरालमा माटोका नमुना सङ्कलन गरिएको छ। भूमिगत जलस्रोत विज्ञ डा. विजयमान शाक्यका अनुसार ती नमुना परीक्षण गरी भूमिगत पानीको अवस्था र स्रोतबारे विश्लेषण गरिनेछ।

स्थानीय बासिन्दाका अनुसार वि.सं. २०४१ सालसम्म सुन्धारामा पानीको निकास कायम थियो। स्थानीय गौत्तम डङ्गोलले काठमाडौँ मल निर्माणका क्रममा जग खन्दा प्रयोग गरिएका फलामे पाताले पानीको प्राकृतिक बहाव अवरुद्ध भएको बताए।

उनका अनुसार वि.सं. २०५६ सालमा सुन्धारामा पानी ल्याउने प्रयास गरिए पनि पानीको निकास नखुलेपछि पुनः बन्द गर्नुपरेको थियो। त्यसैगरी, वि.सं. २०७२ को भूकम्पपछि धरहरा पुनर्निर्माणका क्रममा भएका ठूला संरचना निर्माणले पनि सुन्धाराको पुरानो पानी प्रणालीमा असर पारेको स्थानीयको भनाइ छ।

महानगरले अहिलेको अध्ययनबाट भूमिगत पानीको स्रोत, बहाव र निकासको अवस्था पहिचान गरी सुन्धाराको प्राकृतिक जलप्रवाह पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।