नवनियुक्त उद्योगमन्त्री साहले उद्योगीहरूसँग छलफल गर्ने

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको अभाव, वितरण प्रणालीमा देखिएका समस्या तथा सहज आपूर्तिका विषयमा छलफल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले आज बेलुकी ५ बजे विशेष बैठक बोलाएका छन् ।

ग्यासको सहज आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न मन्त्री साहले उद्योगी तथा सम्बन्धित सरोकारवालालाई बैठकमा आमन्त्रण गरेका हुन् । पछिल्लो समय ग्यास नपाएर उपभोक्ताहरू लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ भने विभिन्न स्थानमा कालोबजारीसमेत बढेको गुनासो आउन थालेपछि मन्त्री साहले यस विषयमा चासो देखाएका हुन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार बैठकमा बजारमा देखिएको ग्यास अभाव, आपूर्ति तथा वितरणमा देखिएका समस्या र त्यसको समाधानका विषयमा छलफल हुनेछ ।

छलफलको तयारीबारे जानकारी दिँदै अध्यक्ष चन्दले भने, ‘बजारमा देखिएको ग्यासको समस्याका विषयमा छलफल गर्न मन्त्रीज्यूले आज बेलुकी ५ बजे हामीलाई बोलाउनुभएको छ । बैठकमा ग्यासको सहज वितरण र देखिएका समस्याबारे गम्भीर रूपमा कुरा राख्छौँ ।’

उनका अनुसार हाल सुरक्षा निकाय र वाणिज्य विभागको संयुक्त टोलीले बजार अनुगमन गरिरहेको भए पनि ग्यासको वितरण प्रणालीमा अझै सुधार आवश्यक देखिएको छ । उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आपूर्ति व्यवस्थापन र वितरण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।