काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारिन्।
उनले भनिन्, ‘घटना सार्वजनिक भएपछि मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले स्पष्टीकरण पेस गरिसकेको र घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयका प्रतिनिधिसहितको पाँच सदस्यीय टोली राजविराज पुगिसकेको छ।’
घटनाबारे जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको बताइन्। घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन अघि बढाइएको बताइन्।
मन्त्रालयलाई घटना थाहा हुनासाथ आमा र नवजात शिशुको खोजी गरी अस्पतालमा ल्याएर उपचार गर्न निर्देशन दिएको बताइन्।
निर्देशनपछि दुवैलाई अस्पतालमा ल्याई भर्ना गरेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा स्याहार भइरहेको बताइन्।
राजविराज घटनाको छानबिन प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गरिने र सेवामा देखिएका कमीकमजोरी सरकारले सुधार गर्दै जाने बचन दिइन्।






