डेढ करोड पर्ने यार्सागुम्बा बरामद

कात्तिक ३, दार्चुला ।
प्रहरीले दार्चुलाबाट डेढ करोड भन्दा बढी मूल्य पर्ने यार्सागुम्बा बरामद गरेको छ ।

जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको यार्सागुम्बा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको हो । यार्सागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका–३ को ३५ वर्षीय दोकार लामा पनि पक्राउ परेका छन् ।

उनले १० किलोको पुर्जी लिएर साढे १७ किलो यार्सागुम्बा तस्करी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख पदम विष्टले जानकारी दिए ।

बरामद यार्सागुम्बासहित लामालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको विष्टले बताए ।