पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न इच्छुक पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान गरेको छ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार पञ्चाङ्गको सौरोक्तखण्ड सौरोक्त पद्धतिबाट तथा अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्नुपर्नेछ। उहाँले तोकिएको मितिभित्र आवश्यक सबै विषयवस्तु समावेश गरी पञ्चाङ्ग पेस गर्न आग्रह गरिएको जानकारी दिनुभयो। विसं २०८३ को पात्रोलाई पनि यही पद्धतिअनुसार स्वीकृति दिइएको थियो।

समितिको सूचनाअनुसार नयाँ पञ्चाङ्गकारले विसं २०८४ देखि २०८६ सम्म तीन वर्षको गणित हातले लेखेको मस्यौदाका रूपमा पेस गर्नुपर्नेछ। साथै, पञ्चाङ्ग गणनाका सम्पूर्ण आधार, विधि तथा विषयवस्तुको खेस्रा पनि समितिमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

समितिले तोकेको म्याद नाघेर पेस गरिएका, आवश्यक अङ्ग पूरा नभएका वा समितिले स्वीकार नगरेका सिद्धान्तका आधारमा गणना गरिएका पञ्चाङ्गलाई स्वीकृति नदिइने जनाएको छ।

त्यस्तै, भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले पनि समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्नुपर्नेछ। समितिले निर्णय गरेका चाडपर्व, जात्रा तथा अन्य विवरणमा फरक परी सर्वसाधारणमा भ्रम सिर्जना हुने अवस्था आएमा प्रकाशित पञ्चाङ्ग तथा भित्तेपात्रोमाथि नियमानुसार आवश्यक कारबाही गरिने जनाएको छ।