काठमाडौँ – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गअन्तर्गत बेनीघाट रोराङ–१० को जवाङखोला र शितलबजार क्षेत्रमा पहिरो पन्छाएपछि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। जवाङखोला क्षेत्रमा सडक मर्मतपछि पनि हाल एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित घट्टेखोलामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाका अन्य प्रमुख राजमार्गसमेत बन्द रहेको प्रहरीले जनाएको छ।
नुवाकोटको बेत्रावती–१० स्थित सिमटारमा आएको बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ।
यसैबीच, टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ को घट्टेखोला क्षेत्रमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालन गर्न नदिइने व्यवस्था गरिएको छ।
बीपी राजमार्गको काभ्रे खण्डअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा भने सडकको अवस्था हेरेर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सवारी सञ्चालन गर्न अनुमति दिइएको छ।
यता, कर्णाली प्रदेशको कालिकोटमा पनि पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले सडक प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायको सूचना हेरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।






