काठमाडौं – रसुवामा आएको बाढीका कारण केही समय सुस्ताएको नेपाली चलचित्र क्षेत्रमा यस साता पुनः चहलपहल बढेको छ। शुक्रबारदेखि दुई नेपालीसहित चार नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। प्रदर्शनमा आएका चलचित्रमा नेपालीतर्फ ‘पेन्सन पट्टा’ र ‘बेहुली’, तथा विदेशी चलचित्रतर्फ हलिउडको ‘फल २: डेड प्वाइन्ट’ र बलिउडको ‘हनुमान अंश’ छन्।
माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा आधारित छ। चलचित्रमा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन्। लाहुरे श्रीमानको निधनपछि श्रीमतीले पेन्सन प्राप्त गर्न भोग्नुपर्ने संघर्षलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ।
त्यस्तै, सशान कँडेल ‘सन्तोष’ निर्देशित ‘बेहुली’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ। ड्रामा विधाको यस चलचित्रमा पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा छन्।
विदेशी चलचित्रतर्फ हलिउडको ‘फल २: डेड प्वाइन्ट’ प्रदर्शनमा आएको छ। माइकल स्पिरिङ र पिटर स्पिरिङ निर्देशित ९८ मिनेट लामो चलचित्र थाइल्यान्डस्थित जोखिमपूर्ण माउन्ट क्वान आरोहणको कथामा आधारित छ। ह्यारिएट स्लेटर, अर्सेमा थोमस, टम ब्रिट्नी र ग्रेस क्यारोलिन करीको अभिनय रहेको चलचित्रमा आरोहणका क्रममा पहिरो गएपछि चार हजार फिट उचाइमा रहेको साँघुरो फल्याकमा फसेका पात्रहरूको जीवनरक्षाको संघर्षलाई प्रस्तुत गरिएको छ।
यसैगरी, बलिउड चलचित्र ‘हनुमान अंश’ पनि शुक्रबारदेखि नेपाली हलमा प्रदर्शनमा आएको छ। विशाल चतुर्वेदी निर्देशित १५० मिनेट लामो चलचित्रले दिवङ्गत आमाको खोजीमा निस्किएको एक बालकको आध्यात्मिक यात्राको कथा प्रस्तुत गर्छ। सोभिनव सत्या, चन्दन आनन्द र पूर्णिमा तिवारीको मुख्य अभिनय रहेको चलचित्रले मानवताको सेवा नै जीवनको महत्वपूर्ण उद्देश्य भएको सन्देश दिन्छ। चलचित्रले पीजी रेटिङ पाएको छ।






