नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — गैंडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना बिहान करिब ६:५० बजे भएको हो।
दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।
पुरानो मेडिकल कलेजमा कालिकोटका धनमान हमाल, गैंडाकोटका लिला थापा, प्रेमबहादुर रानाभाट, मिरा आचार्य, बाराका मोहन भैया साह, चितवनकी निशा तिवारी र उनका ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका निमलाल खड्का र अमृता खड्का तथा रुपन्देहीका मनोज गुरुङ र हुमा गुरुङको उपचार भइरहेको छ।
त्यसैगरी, नयाँ चितवन मेडिकल कलेजमा बस चालक सन्तोषबहादुर गुरुङ, गैंडाकोटका आत्रिया पौडेल, माधवा ज्ञवाली, सिता ज्ञवाली, जस्विन ज्ञवाली, गोरखाका शंकर बयलकोटी र चितवनकी दिभा रानाभाटको उपचार भइरहेको प्रहरीले जनाएको छ।






