सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको *मृ*त्यु

सुर्खेत । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ की अन्दाजी १८ वर्षीया विपना बुढाथोकी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीका अनुसार शनिबार बिहान सिम्क भन्ने स्थानबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ००५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेको थियो।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको जनाएको छ।

दुर्घटनाको थप विवरण तथा घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।