काठमाडौँ -रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार बैंक तथा वित्तीय क्षेत्रमा रु ७२ करोड ४० लाख बराबरको क्षति भएको छ।
सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको एउटा शाखामा भएको छ। उक्त शाखामा मात्रै रु ६५ करोडको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, सिटिजन्स बैंकको एउटा शाखा प्रभावित हुँदा रु १ करोड ५६ लाख, ग्लोबल आइएमई बैंकको एउटा शाखामा रु ११ लाख, हिमालयन बैंकको एउटा शाखामा रु ७५ लाख र लक्ष्मी सनराइज बैंकको एउटा शाखामा रु १ करोड १२ लाखको क्षति भएको छ।
माछापुच्छ्रे बैंकको एउटा शाखामा रु ७५ लाख, नबिल बैंकको एउटा शाखामा रु ६३ लाख, एनआईसी एसिया बैंकका तीन शाखामा रु ८८ लाख तथा नेपाल इन्भेष्टमेन्ट बैंकका तीन शाखामा रु ४० लाखको क्षति भएको प्रतिवेदनले देखाएको छ।
यसैगरी, एनएमबी बैंकको एउटा शाखामा रु ४ लाख, प्रभु बैंकका दुई शाखामा रु ५३ लाख र सानिमा बैंकको एउटा शाखामा रु ६३ लाख बराबरको क्षति भएको छ।
प्रतिवेदनअनुसार बाढीबाट प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवासँग सम्बन्धित भौतिक संरचना तथा अन्य सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ। नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार शाखामा मात्रै रु ६७ करोड १३ लाखको क्षति भएको छ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ शाखामा रु ४ करोड २३ लाख, कालिका गाउँपालिकामा एउटा शाखामा रु २८ लाख र उत्तरगया गाउँपालिकामा एउटा शाखामा रु ७५ लाखको क्षति भएको उल्लेख छ।
यसका अतिरिक्त बैंक तथा वित्तीय सेवासँग सम्बन्धित क्षेत्रमा थप रु १९ करोड ५९ लाख बराबरको क्षति भएको प्रतिवेदनमा जनाइएको छ। यसमध्ये नुवाकोटको विदुरमा रु ६ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा रु ९ करोड ५३ लाख, कालिका गाउँपालिकामा रु ७९ लाख र उत्तरगया गाउँपालिकामा रु ३ करोड २३ लाख बराबरको क्षति भएको छ।






