बाढी क्षेत्रमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल, महाराजगञ्जले नुवाकोटको विदुरमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ ।

बाढीका कारण त्रिशूली अस्पतालसँगको सम्पर्क प्रभावित भएपछि बाढीपश्चात् फैलन सक्ने सङ्क्रामक रोगको जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले लेभल–१ को फिल्ड अस्पताल सञ्चालनमा ल्याएको हो ।

फिल्ड अस्पतालमा विशेषज्ञ चिकित्सकसहित चौबिसै घण्टा आकस्मिक सेवा, बहिरङ्ग सेवा (ओपिडी), वार्ड, प्रयोगशाला तथा औषधि उपचारको व्यवस्था गरिएको छ । यी सबै सेवा सर्वसाधारणलाई निःशुल्क उपलब्ध गराइने प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिए ।

उनका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको मानवीय तथा पशुचौपायाको क्षतिपछि विभिन्न सङ्क्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राखेर फिल्ड अस्पताल सञ्चालन गरिएको हो ।

“बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै विशेषज्ञ जनशक्ति, आवश्यक यन्त्र–उपकरण र औषधिसहितको सेवा निःशुल्क उपलब्ध गराएका छौँ,” पौडेलले भने, “बाढीले पुल बगाएपछि त्रिशूली अस्पतालको सेवा लिन रसुवा, नुवाकोटलगायतका बासिन्दालाई कठिनाइ भइरहेको छ । सामान्य स्वास्थ्य समस्या देखिए पनि उपचारका लागि अन्य जिल्लामा जानुपर्ने अवस्था भएकाले विशेषज्ञसहितको सेवा उपलब्ध गराउन विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएको हो ।”

विपद्पछिको अवस्थामा सरुवा रोगको सङ्क्रमण फैलिने जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । साथै, विपद्का कारण प्रभावित व्यक्तिमा देखिन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान तथा उपचारलाई पनि फिल्ड अस्पतालले प्राथमिकतामा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार होल्डिङ सेन्टरमा विभिन्न बस्तीका मानिस एकै ठाउँमा बस्दा सङ्क्रमण फैलिन सक्ने भएकाले स्वास्थ्यकर्मीमार्फत आवश्यक स्वास्थ्य सावधानीबारे सचेत गराउँदै आइएको छ ।

उनका अनुसार शव तथा सिनुको दुर्गन्ध, प्रदूषित पानी र प्रतिकूल मौसमका कारण हैजा लगायतका रोग फैलिन सक्ने जोखिम रहेकाले त्यसलाई लक्षित गरी विशेषज्ञ चिकित्सक तथा आवश्यक औषधिको व्यवस्था गरिएको छ ।