नुवाकोट । नेपाल प्रहरीले सञ्चालन गरिरहेको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण तथा समुदाय–प्रहरी साझेदारीलगायतका कामलाई तीव्रता दिएको छ ।
अपरेशनअन्तर्गत प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनःस्थापना र ट्राफिक व्यवस्थापनका कामसमेत गरिरहेको छ ।
अभियानका क्रममा तालिमप्राप्त कुकुर परिचालन गरी बेपत्ताको खोजी भइरहेको छ । सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद सिलवालका अनुसार भदौ १९ गतेदेखि हालसम्म ६५ शव व्यवस्थापन गरिएको छ ।
यस अवधिमा ४६ नेपाली र एक भारतीय गरी ४७ जनाको डीएनए परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये आठ महिला, एक बालक र सात बालिका रहेका छन् । संकलन गरिएका ३७ वटा डीएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइसकिएको छ भने १० नमुना पठाउन बाँकी रहेको प्रहरीले जनाएको छ । डीएनए नमुना प्रहरीको लेभल–१ अस्पतालमा संकलन गरिएको हो ।
प्रहरीले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवको व्यवस्थापनसँगै बेपत्ताको खोजीलाई निरन्तरता दिएको छ । रसुवा जिल्लामा आवश्यक सामग्री पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत प्रहरीले सहयोग गरिरहेको छ ।
अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण तथा अत्यावश्यक धनमाल र सामग्री निकाल्ने कामसमेत भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गर्ने काम पनि भइरहेको उनले बताए ।
बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा विभिन्न स्थानमा मानिस हराइरहेकाले उनीहरूको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न मातहतका प्रहरी युनिटलाई निर्देशन दिइएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना सुरुङलगायत जोखिमयुक्त स्थानमा उद्धार, सडक सञ्जालबाट सम्पर्क विच्छेद भएका क्षेत्रमा अत्यावश्यक पूर्वाधार निर्माण तथा पीडितका आफन्तलाई प्रभावित क्षेत्रमा लैजाने–ल्याउने काममा केन्द्रित रहेकाले प्रहरीले समुदायकेन्द्रित गतिविधिलाई प्राथमिकता दिएको जनाएको छ ।
नेपाल प्रहरीको ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत सम्बन्धित बाढी प्रभावित जिल्लाका प्रहरी युनिटलाई आवश्यक निर्देशन तथा समन्वय भइरहेको छ । कुकुर पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी बेपत्ताको खोजीसमेत जारी राखिएको छ ।
फेला परेका शव वा शरीरका अंगको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । साथै, प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेमा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न पनि टोलीले सहजीकरण गरिरहेको छ ।






