काठमाडौँ । झण्डै ५ महिनाको अवधिमा मात्रै मन्त्रिपरिषद्बाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी ६३ जनाको नियुक्ति गरिएको पाइएको छ।
२०८२ चैत १३ गते बालेन शाह नेतृत्वको सरकार गठन भएयता २०८३ भदौ ३ गतेसम्मको अवधिमा सरकारले विभिन्न ४३ वटा निर्णयमार्फत कुल ६३ जना पदाधिकारी तथा सल्लाहकारहरू नियुक्त गरेको हो।
प्रतिनिधि सभा सदस्य सीता थपलियाले मागेको सूचनाको जवाफ दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को निर्णयबाट हालसम्म भएका नियुक्तिहरूको आधिकारिक विवरण उपलब्ध गराएको हो ।
प्रमाणित विवरणअनुसार सरकारले प्रधानमन्त्रीको सचिवालयदेखि नियामक निकाय, वित्तीय संस्था, सार्वजनिक संस्थान तथा विकास समितिहरूसम्म नियुक्ति भएको देखिएको छ । विवरणमा भदौ ३ पछि भएका नियुक्तिहरू समेत समावेश छैन ।
सरकारले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकारमा असिम शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकारमा सुदीप ढकाल, सूचना तथा सञ्चार प्रविधि सल्लाहकारमा विवेक मिश्र र अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. जगदिश प्रसाद अग्रवाललाई नियुक्त गरेको छ।
यस्तै, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकार भट्ट र अन्य ६ जना सदस्यहरूको नियुक्ति गरिएको छ भने नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित र दीर्घ बहादुर रावललाई जिम्मेवारी दिइएको छ।
आर्थिक तथा नियामक क्षेत्रका महत्त्वपूर्ण निकायहरूमा पनि सरकारले नयाँ नेतृत्व चयन गरेको छ। जसमा नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल र विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धितालसहित तीन सदस्य नियुक्त भएका छन्।
यसैगरी नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, सुरक्षण मुद्रण केन्द्र तथा नेपाल रेल्वे कम्पनीजस्ता प्रमुख सार्वजनिक संस्थानहरूमा पनि कार्यकारी प्रमुखहरूको नियुक्ति सम्पन्न गरिएको छ।
यस अवधिमा प्रेस काउन्सिल, गोरखापत्र संस्थान, विश्वविद्यालय अनुदान आयोग, चिकित्सा शिक्षा आयोग, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका साथै विभिन्न स्वास्थ्य परिषद् र विकास समितिहरूमा समेत पदाधिकारीहरू पदपूर्ति गरिएको छ।






