सडक निर्माणसँगै मोटरसाइकल बिक्री बढ्यो

कात्तिक ३, जाजरकोट ।
मुख्य सडकहरू जाजरकोट भएर जाने क्रम बढेसँगैै मोटरसाइकल कम्पनीका शाखाहरू यस क्षेत्रमा स्थापना हुन थालेका छन् ।

दुई वर्षअघि मोटरसाइकल खरिद गर्न नेपालगन्ज र सुर्खेत जाने जाजरकोटका स्थानीय अहिले सदरमुकामै स्थापना भएका सोरुमबाट नै खरिद गर्ने गर्छन् । जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिका भएर जाजरकोट–डोल्पा सडक खण्ड, जाजरकोट–जुम्ला र मध्यपहाडी लोकमार्ग सञ्चालन भएपछि मोटरसाइकलका सोरुम जिल्लामा भित्रने क्रम बढेको छ ।

जाजरकोट, रुकुम पश्चिम र डोल्पाको बीच भागमा पर्ने जाजरकोटमा अहिले सवारी साधन खरिद तथा बिक्रीको कार्य निकै बढेको छ ।

गत साउनदेखि असोजसम्म मात्र सदरमुकामबाट एक सय २० भन्दा बढी मोटरसाइकल बिक्री भएको यमाहा कम्पनीको अधिकारिका सोरुम तथा लक्की तथा आर्दश सप्लायर्सका प्रमुख नगेन्द्र शाहले जानकारी दिए ।

हालसम्म चार सय किलोमिटरभन्दा बढी आन्तरिक सडक निर्माण भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए । नलगाड जलविद्युत आयोजना (४१७) मेगावाट आयोजना समेत जाजरकोटमै निर्माण कार्य सुरु भएका कारण सडक तथा विद्युत लाइन विस्तार गर्न थप बल पुगेको छ ।

छिन्चु – जाजरकोट सडक भित्र ९ पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । जाजरकोट – डोल्पा सडक खण्डमा १३ पुल निर्माण प्रक्रिया सुरु भएको छ । जिल्लामा केन्द्रीय विद्युतको सव स्टेशन निर्माणका लागि समेत सडक अनिवार्य भएकाले अहिले सडक निर्माण कार्य तीव्र पारिएको छ ।

विदेशी तथा स्वदेशी पर्यटकहरु समेत जिल्ला आउन सहज भएको छ । जिल्लाका आन्तरिक सडकमा समेत कालोपत्रको काम सुरु गर्न लागिएको वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले निजी क्षेत्र पनि जाजरकोटमा सशक्त हुँदै गएको बताए । (रासस)