काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ का २९ वर्षीय मोटरसाइकल चालक पारस थापा र सोही ठाउँका ३४ वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी हुन्।
आइतबार बिहान करिब २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा थापा र रेग्मी दुवै जना गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित घोपा पठाइएको थियो। तर, उपचारका क्रममा दुवै जनाको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






