काठमाडौं — सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्दै इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थी अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न नयाँ क्याम्पस स्थापना गर्न लागिएको जानकारी दिए।
मधेस प्रदेशबाट हरेक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौंलगायत अन्य प्रदेशमा जाने गरेका छन्। यसका कारण विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्नुका साथै बसोबास र अन्य व्यावहारिक समस्या पनि सिर्जना हुँदै आएको छ।
मन्त्री पोखरेलका अनुसार क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ। स्थान निर्धारणका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिले तयार पार्ने प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ।
क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय भइनसके पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने लक्ष्यसहित आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले बताए।
सरकारले प्रस्तावित क्याम्पसलाई परम्परागत शिक्षामा मात्र सीमित नराखी अनुसन्धान तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ। आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार र त्यसको व्यावहारिक प्रयोगलाई प्राथमिकता दिँदै क्याम्पसलाई अनुसन्धानमुखी बनाउने सरकारको तयारी छ।
मधेस प्रदेशमा आइओईको क्याम्पस स्थापना भएपछि यस क्षेत्रका विद्यार्थीले आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाउने सरकारको अपेक्षा छ। साथै, स्थानीयस्तरमै अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनका लागि अनुकूल वातावरण निर्माण हुने विश्वास गरिएको छ।
हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पसहरू पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन्। मधेस प्रदेशमा नयाँ क्याम्पस स्थापना भएमा देशमा इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।






