काठमाडौँ – विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा एक महिनासम्म सञ्चालन भएको गुँला पर्वका अवसरमा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन्।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका बौद्ध अनुयायी गुँला पर्वमा सहभागी भएका थिए। गत साउन २८ गतेदेखि सुरु भएको मेला शनिबार राति विधिपूर्वक समापन गरिएको हो।
महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यका अनुसार बौद्ध धर्मावलम्बीले बुद्धले ज्ञान प्राप्त गरी मानव कल्याणका लागि सन्देश प्रवाह गरेको विश्वासका साथ गुँला महिनालाई पवित्र महिनाका रूपमा मनाउने गरेका छन्। स्वयम्भूमा दर्शन गरेपछि नजिकै रहेका शोभा भगवती, विजेश्वरीलगायतका तीर्थस्थलको परिक्रमा गर्ने परम्परा समेत रहेको उहाँले बताए।
मेलाका क्रममा महासमितिले स्वयम्भू तथा आसपासका गुम्बामा दर्शन गर्न आउने भक्तजनको भीड व्यवस्थापन, सडक बत्ती व्यवस्थापनलगायतका काम गरेको थियो। गुँला पर्वमा सहभागी भई दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने धार्मिक विश्वास रहँदै आएको छ।
मेलाको अवधिभर बुद्धको जीवनी तथा उहाँका उपदेशलाई कथाका रूपमा वाचन गरिएकाले त्यसमा सहभागी हुन पनि ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका सचिव बुद्धाचार्यले बताउनुभयो।
संस्कृतमा ‘स्वयम्भू’ को अर्थ ‘आफैँ उत्पन्न भएको भूमि’ भन्ने हुन्छ। बौद्ध धर्मावलम्बीका अनुसार विपश्वी बुद्धले समेत स्वयम्भूमा आएर पूजा गर्नुभएको थियो। विभिन्न धार्मिक गतिविधि हुँदै आएको यस स्थलमा हिनयान, महायान, बज्रयानलगायत बौद्ध धर्मका विभिन्न सम्प्रदायका अनुयायीले आस्था प्रकट गर्दै आएका छन्।






